टेलर स्वीफ्टले ल्याइन् नयाँ एल्बम ‘टर्चड् पोएट्स डिपार्टमेन्ट’, स्पोटीफाइमा रेकर्ड

१ हप्ता पहिले ३७

काठमाडौं । टेलर स्वीफ्टको बहुप्रतीक्षित एल्बम ‘टर्चड् पोएट्स डिपार्टमेन्ट’ नेपाली समयानुसार शुक्रबार बिहान रिलिज भएको छ । ग्रामी विजेता गायिकाले ल्याएको यो ११ औं स्टुडियो एल्बम एप्पल म्युजिक, स्पोटीफाइसहितका प्लाटफर्ममा उपलब्ध छ ।

१६ गीत समावेश एल्बममा गायिका स्वीफ्टको मुड र उन्मुक्त भाव महसुस गर्न सकिन्छ, जुन उनको निजी अनुभव र मोनोलगजस्तो देखिन्छ । एल्बम रिलिज भएसँगै समीक्षा पनि आउन थालेका छन् ।

भेराइटी म्यागजिनले गायिका स्वीफ्टले फ्यानलाई खुसी बनाउन मात्र नभएर जीवनका धेरै ‘कन्फेसन’लाई एल्बमबाट बाहिर ल्याएको लेखेको छ । ‘श्रोताले उनका यी गीतमा कहिल्यै नपाएको खुराक पाउनेछन्,’ भेराइटी लेख्छ ।

द गार्जियन अखबारले पाँचमा चार रेटिङ दिंदै ‘प्रसिद्धि, प्रशंसक र आगोको ज्वाला’ हेडलाइन लेखेको छ ।

स्वीफ्ट आफैंले इन्स्टाग्राम पृष्ठमा लेखेकी छन्, ‘यो मेरो नयाँ कामको संग्रह हो जसले समयको क्षणिक र घातक पलका घटना, विचार र भावनालाई प्रतिबिम्बित गर्दछ । यो क्षण सनसनीपूर्ण र उत्तिकै दुःखदायी पनि थियो ।’

एल्बमका १६ गीतमध्ये एउटा बोनस ट्रयाक ‘द म्यानुस्क्रिप्ट’ पनि राखिएको छ । ‘फोर्टनाइट’ शीर्षकको गीतमा उनले पोस्ट मालोन र ‘फ्लोरिडा’मा फ्लोरेन्स प्लससँग सहकार्य गरेकी छन् ।

स्वीफ्टको कीर्तिमानी ‘इरास टुर’ र यस वर्षको सुरुमा ग्रामी अवार्ड जितेको बीचमा ‘द टर्टड पोएट डिपार्टमेन्ट’ रिलिज भएको हो । बिक्री र स्ट्रिमिङमा यसले अर्को रेकर्ड राख्ने अनुमान छ ।

‘यो सायद सबैभन्दा प्रत्यासित एल्बम हो जुन मैले मेरो करिअरमा पहिलोपटक देखेको छु,’ आइहार्ट रेडियोका कार्यक्रम प्रमुख तथा अध्यक्ष टम पोलम्यानले सीएनएनसँग भने, ‘यो केवल एक संगीत कार्यक्रम होइन, यो एक पप संस्कृतिको घटना हो । मलाई लाग्छ कि अमेरिकामा सबैले यसबारे कुरा गर्दैछन् र सँगै मनाउनेछन् ।’

स्पोटिफाइको इतिहासमा यो एल्बम प्रि-सेभ्ड (पहिले नै सुरक्षित गरिएको) एल्बम बनेको छ । केही दिनमा स्वीफ्टको यो एल्बमले जे-जेडको कीर्तिमानसँग बराबरी गर्न सक्ने फोर्ब्स म्यागजिनले उल्लेख गरेको छ ।

यसअघि स्वीफ्टका ६ वटा एल्बमको बिक्री पहिलो साता नै १० लाखभन्दा धेरै भइसकेको छ । यो सूचीमा सातौं एल्बमको कीर्तिमान थपिन सक्छ । पहिलो साता ५ लाख एल्बम बिक्री गर्ने संसारकै उत्कृष्ट १० भित्र उनी समेटिएकी छन् । नयाँ एल्बमबाट पनि थुप्रै अन्य कीर्तिमान रचिन सक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।

पुरा समाचार पढ्नुहोस्